काठमाडौं – आज बिहान साढे १० बजे मन्त्रिपरिषद् को बैठक बस्दैछ। बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी प्रस्तावित खाकाबारे छलफल हुने उच्च स्रोतले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार सरकारले केही मन्त्रालय खारेज गर्ने तथा केहीलाई गाभेर नयाँ नामकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रारम्भिक योजना अनुसार हालका चार मन्त्रालय खारेज गरिनेछ भने अन्य छ वटा मन्त्रालयको नाम परिवर्तन गरिने तयारी छ।
मन्त्रालय पुनर्संरचना सम्बन्धी प्रस्ताव तयार गर्न गोविन्दबहादुर कार्की को संयोजकत्वमा गठन गरिएको कार्यदलले संघमा मन्त्रालय संख्या १७ मा सीमित गर्ने सुझाव दिएको थियो। सोही सुझावका आधारमा सरकारले नयाँ संरचना अघि बढाएको हो। प्रस्तावअनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी छ। खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाउने तथा युवालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगै अन्य सामाजिक क्षेत्रसँग एकीकृत गरी ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ बनाउने योजना रहेको छ।
त्यस्तै खानेपानी तथा शहरी विकासलाई भौतिक पूर्वाधारसँग गाभेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाउने, सरसफाइलाई स्वास्थ्य मन्त्रालयमा समायोजन गर्ने तथा केही क्षेत्रहरूलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी गरिएको छ।
सरकारले आफ्नो सय दिने प्रशासनिक सुधार कार्यक्रमअनुसार मन्त्रालयको संख्या घटाउँदै १७ मा सीमित गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार मन्त्रालय मर्ज र खारेजीको प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।






