विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड बढीको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

 

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ।

विभागले बुधबार काठमाडौं जिल्ला अदालत, बबरमहलमा अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए।

पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ रुपैयाँ तथा उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।

विभागका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड ‘क’, ‘ख’ र ‘ग’ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो।

यसअघि उनीहरूले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको आरोपमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गर्दै १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

उक्त मुद्दासँग सम्बन्धित कसुरबाट आर्जित सम्पत्तिको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरसमेत स्थापित भएको विभागले सूचनामार्फत जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्