काठमाडौँ – सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । थापाथली, गैरीगाउँ र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्ती भत्काइएपछि घरबारविहीन भएका परिवारहरू दर्ता प्रक्रियामा आएका हुन् ।
सम्पर्कमा आएका परिवारहरूलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गर्ने काम भइरहेको छ । थापाथली र गैरीगाउँमा कारबाही सकिएलगत्तै महानगरको डोजर मनोहरा र जडीबुटी क्षेत्रतर्फ केन्द्रित हुने महानगर प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् ।
सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रङ्गशालामा राखी विवरण सङ्कलन गर्ने र त्यसपछि अस्थायी सेल्टरमा व्यवस्थापन गर्ने काम भइरहेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहका अनुसार वास्तविक सुकुम्बासी पहिचान गर्ने कार्य भोलिबाट सुरु गरिनेछ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई हप्ताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने योजना रहेको छ ।






