इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ। हैदरावादको घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादका अभिषेक शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ६८ बलमा अविजित १३५ रन बनाए। उनको सानदार पारीको मद्दतले हैदरावादले २० ओभरमा २ विकेट गुमाउँदै २४२ रनको विशाल योगफल तयार गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १९५ रनमात्र बनाउन सक्यो। यो जितसँगै हैदरावाद ७ खेलमा ८ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने दिल्ली ६ खेलमा ६ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ। प्रतियोगिताअन्तर्गत आज लखनउ सुपर जाइन्ट्स र राजस्थान रोयल्सबीच लखनउमा बेलुकी पौने ८ बजे खेल हुँदैछ।






