काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोलीले यूएई राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिला बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोज्नुभएको हो।
पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपालले यो खेल जित्दै सिरिज बराबरीमा ल्याउने लक्ष्य राखेको छ। उता यूएई भने लगातार दोस्रो जित निकाल्दै घरेलु टोलीमाथि क्लिन स्वीप गर्ने रणनीतिमा मैदान उत्रिएको छ।
यस खेलका लागि नेपालले पहिलो खेलको प्लेइङ-११मा चार खेलाडी परिवर्तन गरेको छ। अर्जुन साउद, सन्दीप जोरा, शेर मल्ल र बसिर अहमद बेन्चमा रहँदा सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमलाई टोलीमा स्थान दिइएको छ।
नयाँ खेलाडी सन्तोष यादवले यसै खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्न लागेका छन्।






