काठमाडौँ – नयाँ वर्ष २०८३ को पहिलो दिन देशभर मौसम सामान्यतया सफा हुने भएको छ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बिहानैदेखि घाम लागेको छ भने तराई क्षेत्रमा पनि मौसम भोलिसम्म सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली भू–भागका केही स्थानमा दिउँसोपछि हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि ठूलो वर्षाको सम्भावना छैन। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा भने मौसम केही सक्रिय हुने देखिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलिसम्म हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।







