काठमाडौँ – काठमाडौँको पेप्सीकोलामा रहेको नेक्सस् इन्टरनेशनल स्कुलले अभिभावकहरूका लागि ‘आर्ट अफ पेरेंटिङ’ विषयमा एक प्रभावकारी तथा अन्तरक्रियात्मक सत्र आयोजना गरेको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमको निरन्तरतास्वरूप यस वर्ष पनि आयोजित सत्रमा अतिथि वक्ताका रूपमा डा. रविन कटवाल, हाँस्य कलाकार तथा प्रेरक वक्ता सन्दिप क्षेत्री तथा डिके ढुंगानाले अभिभावकहरूलाई सचेत अभिभावकत्व, बालबालिकासँगको सम्बन्ध सुदृढीकरण र समग्र विकासका विषयमा मार्गदर्शन गर्नुभएको थियो।

कार्यक्रममा बालबालिकाको भावनात्मक, मानसिक र सामाजिक विकासमा अभिभावकको भूमिकाबारे विशेष जोड दिइएको थियो। सकारात्मक संवाद, समझदारी र सहकार्यबाट मात्रै बालबालिकाको समुचित विकास सम्भव हुनेमा वक्ताहरूले जोड दिएका थिए।

शनिबार शान बैंक्वेट मा सम्पन्न उक्त कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका संस्थापक प्राचार्य आरबी कटवालले अभिभावकको सक्रिय सहभागिताले विद्यार्थीको शैक्षिक उन्नयन र समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सहभागी अभिभावकहरूले सत्रलाई अत्यन्त उपयोगी, ज्ञानवर्धक र प्रेरणादायी अनुभवका रूपमा लिएका छन्। विद्यालयका अनुसार यस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्याउनेछ।







