काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीलाई तत्काल व्यापक पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले राप्रपालाई केवल राष्ट्रिय पार्टीको हैसियतमा सीमित नराखी विश्वासिलो र सशक्त हस्तक्षेपकारी तथा रूपान्तरणकारी शक्ति बनाउने हो भने संरचनागत परिवर्तन अपरिहार्य रहेको बताएका हुन्। उनले पार्टीको नाम, चुनाव चिह्नदेखि केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्व पुनरावलोकन गरी आवश्यक परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
पाठकले सार्वजनिक रूपमा यस्तो धारणा राख्दा आलोचना हुन सक्ने स्वीकार्दै पनि पार्टीभित्रको चिन्तन र कार्यशैली नै मुख्य समस्या भएको बताएका छन्। “पार्टीको एजेन्डामा ठूलो समस्या छैन, समस्या हाम्रो सोच, कार्यशैली र बलशाली प्रवृत्तिहरूमा छ,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार समयको आवश्यकता र आधुनिक राजनीतिक आयामलाई बेवास्ता गर्दा पार्टी कमजोर बन्दै गएको छ। अहिलेको शैलीमा अघि बढे आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा प्रभावशाली उम्मेदवार पाउनसमेत कठिन हुने उनको भनाइ छ।
पाठकले पार्टीभित्र तल्लो तहसम्म व्यापक बहस सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै साथीहरू, शुभेच्छुक र आलोचकहरूबाट प्रतिक्रिया अपेक्षा गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कुल ५ सिट जितेको थियो। अघिल्लो निर्वाचनमा भने पार्टीले १४ सिट हासिल गरेको थियो।







