ईडेन गार्डेनको अन्तर-विद्यालय वक्तृत्वकलामा मदरल्याण्ड र युनिटी स्कुल विजेता

 

भक्तपुर, माघ २७ – नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सूर्यविनायक नगरपालिका–४ स्थित ईडेन गार्डेन इङ्लिस स्कुलमा अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको वाककला, आत्मविश्वास तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान छात्रछात्राहरूले आफ्नो तर्कशक्ति र प्रस्तुति कौशल प्रस्तुत गरेका थिए।

प्रतियोगिता दुई फरक शीर्षक र तहमा सञ्चालन गरिएको थियो। कक्षा ५ तर्फ “शिक्षा नै उज्यालो भविष्यको आधार” विषयमा युनिटी इङ्लिस स्कुलका हिमांशु भट्ट प्रथम भए। मदरल्याण्ड स्कुलकी कृष्टिका भण्डारी दोस्रो, ग्लिटर फ्युचरकी स्पर्श थापा मगर तेस्रो तथा ऋतम्भरा पाठशालाकी जस्मिन अछामी सान्त्वना स्थान हासिल गर्न सफल भए।

त्यसैगरी कक्षा ४ तर्फ “स्वच्छ वातावरण, स्वस्थ जीवन” शीर्षकमा सम्पन्न प्रतिस्पर्धामा मदरल्याण्ड स्कुलका जेसिक नेपाल प्रथम घोषित भए। पारिजात विद्या कुञ्जकी सबिना नायजु दोस्रो तथा आरक्षण नेसनल एकेडेमीकी आजुनी सुवेदी तेस्रो स्थानमा रहे। सोही तहमा संस्कार गुरुकुलका भाव्या आचार्य र क्वालिटी इङ्लिस स्कुलकी राज्वी लामिछानेले सान्त्वना स्थान प्राप्त गरेको जानकारी आयोजक विद्यालयका सह–प्रिन्सिपल अनिश राईले दिनुभयो।

ईडेन गार्डेन इङ्लिस स्कुलका प्रिन्सिपल जय प्रकाश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका–३ का वडा अध्यक्ष दीपेन्द्र के.सी. प्रमुख अतिथिका रूपमा उपस्थित भई विजेता विद्यार्थीहरूलाई मेडल तथा ट्रफी प्रदान गर्नुभयो। उहाँले विद्यार्थीहरूको आत्मविश्वास र सशक्त अभिव्यक्तिको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

प्रतियोगितामा निर्णायकको भूमिकामा जीवनाथ अधिकारी र मधुसुदन न्यौपाने रहनुभएको थियो। उहाँहरूले विद्यार्थीहरूलाई थप सुधारका लागि आवश्यक सुझाव तथा मार्गनिर्देशन प्रदान गर्नुभयो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आयोजक विद्यालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले विद्यालयको व्यवस्थापन र तयारीको प्रशंसा गर्नुभयो। उहाँले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्