चार दशक बढीको अनुभव बटुल्दै प्रतिनिधिसभा दौडमा कविर राणा

काठमाडौं, २८ माघ । विगत चार दशकदेखि भक्तपुरको माटो, संस्कृति र जनताको मुद्दासँग जोडिँदै आएका कविर राणा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसले उनलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो।

विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका राणा २०३६ सालमा आदर्श माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघमार्फत सक्रिय भएका थिए। २०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागिता जनाउँदा उनले छ महिना जेल जीवनसमेत बिताएका थिए। त्यसयता उनले पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य, महासमिति सदस्य तथा हाल वरिष्ठ जिल्ला कार्यसमिति सदस्यका रूपमा कार्यरत छन्।

बालकोटको बुथ सभापतिदेखि जिल्ला विकास समितिको निर्वाचित सदस्य हुँदै केन्द्रीय तहसम्म पुगेका राणाले लोकतन्त्र र समाजवादी मूल्यलाई आफ्नो राजनीतिक आधार मान्दै आएका छन्। उनी बीपी कोइरालाको विचारबाट प्रभावित रहेको बताइन्छ।

राजनीतिसँगै पत्रकारितामा पनि सक्रिय राणा ‘देशान्तर साप्ताहिक’का प्रधानसम्पादक हुन्। उनले राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनको बोर्ड सदस्यका रूपमा समेत काम गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य र कानुनमा स्नातक गरेका राणाले दुई दर्जनभन्दा बढी देशको भ्रमण गरी अन्तर्राष्ट्रिय अनुभवसमेत संकलन गरेका छन्।

चुनावी एजेन्डामा उनले भक्तपुरको ऐतिहासिक कला–संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन, भित्री सडक स्तरोन्नति, ढल व्यवस्थापन सुधार, सरकारी विद्यालयको गुणस्तर वृद्धि, सुलभ स्वास्थ्य सेवा विस्तार तथा युवालाई सीप र सूचना प्रविधिमार्फत उद्यमशीलतामा जोड्ने विषयलाई प्राथमिकतामा राखेका छन्।

राणाले जनताको मुद्दालाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै भक्तपुरको समग्र विकासका लागि काम गर्ने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्