बालेन शाहले राजीनामा हाललाई होल्ड गरे, उम्मेदवारी र चुनावी अनिश्चितताले निर्णय स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुझाउन लागेको राजीनामा हाललाई होल्ड गरेका छन्। उनी निकटस्थ स्रोतहरूका अनुसार आजै राजीनामा दिने तयारी भए पनि अन्तिम समयमा निर्णय स्थगित गरिएको हो।

उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्थाका कारण पनि शाहले राजीनामा होल्ड गरेको बताइएको छ। बालेन निकट एक नेताले भने, “राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर अहिल्यै निश्चित भन्न सकिने अवस्था छैन। कांग्रेस अदालत गएको छ, त्यहाँबाट केही फैसला आउन सक्छ, चुनाव सर्न पनि सक्छ। यिनै अनिश्चितताका कारण अन्तिम समयसम्म राजीनामा होल्ड गर्ने निर्णय भएको हो।”

मेयर पदबाट राजीनामा नदिइ बालेन शाह केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाने कार्यक्रम रहेको छ। उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा छन् र त्यसअघि नै राजीनामा दिने चर्चा चलेको थियो।

निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताका लागि समय तोकेको छ। सोहीअनुसार दलहरू उम्मेदवार टुंगो लगाउने प्रक्रियामा जुटिरहेका छन्। यसैबीच रास्वपाले पनि आफ्ना उम्मेदवारहरूको टुंगो लगाउँदैछ।

आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्नेछ। बैठकअघि वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्ने कार्यक्रम छ। पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भिड बढ्दै गएको छ। नेताहरूका अनुसार मेयर शाह दिउँसो १ बजे कार्यालय पुग्नेछन्।

केन्द्रीय समिति बैठकपछि पार्टी सभापति रवि लामिछानेसहित नेताहरू जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ। बालेन शाह पनि साँझ ५ बजे जनकपुर जाने तय भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्