काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन्। उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्री समक्ष राजीनामा पेश गरेका हुन्।
तनहुँ निवासी डा. काफ्ले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बीमा बोर्डको निर्देशक पदमा नियुक्त भएका थिए।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दायित्व अत्यधिक बढ्दै गएपछि बोर्ड गम्भीर दबाबमा परेका बेला उनको राजीनामा आएको हो। हाल ठूला सरकारी अस्पतालहरूले समेत सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् भने केही अस्पतालहरू बन्द गर्ने तयारीमा रहेको बताइएको छ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। तर अर्थ मन्त्रालयले यही मोडलमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने हो भने थप अनुदान दिन नसकिने स्पष्ट पारेको छ।
सरकारबाट आवश्यक सहयोग नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम नै संकटमा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।




