मालिकार्जुनमा शिवपुराण ज्ञान महायज्ञ सञ्चालन हुने, काठमाडौँमा समेत अन्तरक्रिया

काठमाडौँ – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित, देशका सात धाममध्ये एकका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ । धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञका सम्बन्धमा बिहीबार काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश सांसद मानबहादुर धामी, नेपाल सरकारका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, समाजसेवी धर्मानन्द जोशी, कांग्रेस नेता जगदीशबहादुर पाललगायत विभिन्न राजनीतिक दलका नेता, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोजक समितिका तर्फबाट किसनसिंह सामन्त र नरेन्द्र धामीले शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको उद्देश्य, हालसम्मको तयारी अवस्था र अपेक्षित उपलब्धिबारे जानकारी गराएका थिए । आयोजक समितिका अनुसार महायज्ञ आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले मालिकार्जुन धाम केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई सिंगो सुदूरपश्चिमको पहिचान र गौरवको प्रतीक भएको उल्लेख गर्नुभयो । उहाँले शिवपुराण ज्ञान महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै राष्ट्रियस्तरमै मालिकार्जुन धामको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “मालिकार्जुन धामलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “यसका लागि राज्य, स्थानीय तह र सम्पूर्ण श्रद्धालुहरूको साझा प्रयास अपरिहार्य छ।” साथै उहाँले महायज्ञको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई उपस्थित गराउन पहल भइरहेको जानकारीसमेत दिनुभयो ।

पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले मालिकार्जुन धाममा आयोजना हुन लागेको शिवपुराण ज्ञान महायज्ञ धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्तो पवित्र धार्मिक कार्यलाई सफल बनाउन राजनीतिक दलको सीमाभन्दा माथि उठेर सबै पक्षले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले गाउँपालिका तथा व्यक्तिगत तर्फबाट महायज्ञलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि आर्थिक, भौतिक तथा नैतिक सहयोगको प्रतिबद्धता व्यक्त गर्दै महायज्ञको प्रचार–प्रसार नेपालसँगै भारतसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका थिए ।

आर्थिक व्यवस्थापन, संकलन तथा परिचालन समितिका संयोजक किसनसिंह सामन्तले महायज्ञलाई व्यवस्थित, पारदर्शी र सफल बनाउन आवश्यक संरचना तयार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार देशभरबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । साथै, देश–विदेशमा रहेका मालिकार्जुन धामका भक्तजन, दातृ निकाय तथा धार्मिक संघसंस्थालाई सहयोग र सक्रिय सहभागिताका लागि आह्वान गरिएको आयोजक समितिले जनाएको छ ।

देशकै महत्वपूर्ण धार्मिक स्थल मालिकार्जुन धाममा आयोजना हुन लागेको शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई थप सुदृढ गर्ने विश्वास लिइएको छ । महायज्ञमार्फत गौशाला निर्माण गरी दीर्घकालीन गाइपालनलाई निरन्तरता दिने, साथै गरिब तथा दीनदुखीका लागि अक्षय कोष स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ । महायज्ञ सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्