काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (ओयूपी) इन्डियाबीच नेपालमा पठन संस्कार प्रवर्द्धन तथा गुणस्तरीय शिक्षाको विकासका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। प्याब्सन स्थापना भएको ३५ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त समझदारी सम्पन्न भएको हो। प्याब्सनले देशभरका पाँच हजारभन्दा बढी निजी तथा आवासीय विद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको छ।
प्याब्सनले नेपाली विद्यार्थीलाई उद्देश्यपूर्ण, गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्यसहित पठन संस्कारलाई प्रमुख प्राथमिकतामा राख्दै आएको जनाएको छ। विश्वव्यापी रूपमा विद्यार्थीहरूको पठन बानी कमजोर हुँदै गएको सन्दर्भमा सही पुस्तकको पहुँच, सहयोगी सिकाइ वातावरण र योजनाबद्ध पठन कार्यक्रम आवश्यक ठहर गर्दै यो सहकार्य गरिएको प्याब्सनको भनाइ छ।
समझदारीअनुसार ओयूपी इन्डियाले विश्वप्रसिद्ध ‘Read with Oxford’ शृङ्खलाअन्तर्गतका ७० वटा पुस्तकहरूको विशेष प्याक प्याब्सनका सदस्य विद्यालयहरूलाई सहुलियत दरमा उपलब्ध गराउनेछ। साथै, बेलायतस्थित ओयूपीको व्यावसायिक विकास टोलीमार्फत शिक्षकहरूका लागि अनलाइन तालिम, अन्तर्राष्ट्रिय सम्मेलन तथा नेतृत्व विकास कार्यक्रममा विशेषज्ञ प्रशिक्षक तथा वक्ता उपलब्ध गराइनेछ। प्याब्सन केन्द्रीय कार्यालयमा स्रोत तथा सिकाइ केन्द्र स्थापना गर्न पनि ओयूपीले सहयोग गर्नेछ।
प्याब्सन केन्द्रीय समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले यस समझदारीलाई नेपालको विद्यालय शिक्षाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भने, “पठन गुणस्तरीय शिक्षाको आधार हो। पुस्तकसँगै दक्ष शिक्षक र सक्षम विद्यालय नेतृत्व बिना शिक्षा सुधार सम्भव हुँदैन।”
ओयूपी इन्डियाका प्रबन्ध निर्देशक सुकान्त दासले प्याब्सनसँगको सहकार्यबाट नेपालमा विश्वस्तरीय शैक्षिक अभ्यास विस्तार हुने विश्वास व्यक्त गरे। दुवै संस्थाले यस सहकार्यलाई दीर्घकालीन साझेदारीको आधारका रूपमा अघि बढाउँदै आत्मविश्वासी पाठक, सशक्त शिक्षक र दूरदर्शी विद्यालय नेतृत्व निर्माणमा योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन्।






