काठमाडौं । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा ठूलो डढेलो फैलिएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो । गएराति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको डढेलो हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगो फैलिँदै गएपछि स्थानीयवासी, पर्यटक तथा मालवाहक सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएको छ । नाकासँग जोडिएका लिपिङ, तातोपानीलगायत आसपासका क्षेत्र धुवाँ र खरानीले ढाकिएको छ भने आगलागीका कारण सीमा क्षेत्रको सञ्चार तथा नेटवर्क सेवासमेत प्रभावित भएको छ ।
गत वर्षको बाढीपछि रसुवा नाका बन्द हुँदा चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको थियो । तर अहिले तातोपानी नाका पनि बन्द भएपछि करोडौँ मूल्यका आयातित सामान बोकेका कन्टेनरहरू बीच बाटोमै रोकिएका छन् ।
नाकाको सञ्चालन कहिले पुनः सुरु हुने भन्ने टुंगो नलाग्दा व्यवसायी तथा आयातकर्ता थप संकटमा परेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो ।







