काठमाडौं – भारतका स्टार ब्याटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । न्युजिल्यान्डविरुद्ध हिजो भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ९३ रन बनाउँदै ३७ वर्षीय कोहलीले यो कीर्तिमान कायम गरेका हुन् । उक्त खेलमा घरेलु टोली भारतले जित हासिल गरेको थियो । बडोदराबाट खेलिएको खेलमा न्युजिल्यान्डले दिएको ३०१ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
कोहलीले टेस्ट, एकदिवसीय र टी–२० तीनै फर्म्याट समेटेर हालसम्म २८ हजार ६८ रन बनाएका छन् । यससँगै उनले श्रीलङ्काका महान ब्याटर कुमार सङ्गाकारालाई पछि पारेका छन् । सङ्गाकाराले अन्तर्राष्ट्रिय क्रिकेटमा २८ हजार १६ रन बनाएका थिए । यो सूचीको शीर्ष स्थानमा भने भारतकै सचिन तेन्दुलकर छन्, जसले ३४ हजार ३ सय ५७ रन बनाएका छन् ।
शीर्षक्रमका ब्याटर विराट कोहलीले सन् २००८ मा श्रीलङ्काविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् भने हाल एकदिवसीय क्रिकेट खेलिरहेका छन् ।
कोहलीसँगै ३८ वर्षीय रोहित शर्माले पनि टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यास लिएका छन् । दुवै क्रिकेटरको भविष्यलाई लिएर व्यापक चर्चा भइरहँदा उनीहरूले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना रहेको बताइँदै आएको छ ।






