भक्तपुर कांग्रेसको कार्यक्रममा वीपी कोइरालाको राष्ट्रिय एकताको नीति स्मरण

काठमाडौं – नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी  मनाउँदै छ । जसअन्तर्गत आज प्रत्येक जिल्लामा कांग्रेस पार्टीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाइरहेको छ । जसमा आज नेपाली कांग्रेस भक्तपुर जिल्लाले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । बुधबार भक्तपुर कांग्रेस पार्टी कार्यालयमा भक्तपुर कांग्रेस सभापति निर्वतमान सांसद दुर्लभ थापाको सभापतित्व तथा राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता समेत रहेको पूर्व महामन्त्री कृष्ण सिटौलाको प्रमुख आतिथ्यता कार्यक्रमको आयोजना गरि विपिको फोटोमा माल्यार्पण समेत गरिएको थियो ।

राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता तथा पूर्व महामन्त्री कृष्ण सिटौलाले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि देखाएको साहस, दूरदृष्टि र त्याग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले “वीपी कोइरालाले आफ्नो व्यक्तिगत जीवन, स्वतन्त्रता र ज्यानसम्मको जोखिम मोलेर राष्ट्रलाई जोगाउने बाटो रोज्नुभयो। २०३३ साल पुस १६ गते मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किनु केवल राजनीतिक निर्णय थिएन, त्यो राष्ट्रिय एकता र मेलमिलापको ऐतिहासिक कदम थियो।” सिटौलाले पञ्चायती निरङ्कुशता विरुद्धको संघर्षमा वीपीको भूमिका स्मरण गर्दै भन्नुभयो, “राजनीतिक दल र राजशक्ति मिलेर मात्रै राष्ट्र बचाउन सकिन्छ भन्ने वीपीको सोच तत्कालीन परिस्थितिको गहिरो मूल्याङ्कन थियो। आजको लोकतान्त्रिक अभ्यासमा पनि संवाद, सहमति र मेलमिलाप अपरिहार्य छ भन्नुभयो ।

कार्यक्रमका सभापति तथा भक्तपुर कांग्रेस सभापति, निर्वतमान सांसद दुर्लभ थापाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण ऐतिहासिक धरोहर भएको बताउनुभयो। उहाँले भन्नुभयो, “वीपी कोइरालाले देखाएको राष्ट्रिय एकता, मेलमिलाप र लोकतान्त्रिक मूल्यको मार्ग आजको पुस्ताले आत्मसात् गर्न आवश्यक छ। उहाँको योगदान केवल कांग्रेसका लागि होइन, सम्पूर्ण नेपाली जनताका लागि प्रेरणाको स्रोत हो।” थापाले वर्तमान राजनीतिक परिस्थितिमा पनि सहकार्य र सहमतिको आवश्यकता औंल्याउँदै भन्नुभयो, “संविधान कार्यान्वयन, शान्ति प्रक्रिया र राष्ट्रिय हितका सवालमा सबै लोकतान्त्रिक शक्तिबीच मेलमिलाप आजको आवश्यकता हो। वीपीको विचार आज पनि हाम्रो मार्गदर्शक बनेको छ।”

कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति,नगर सभापति, पूर्व नगर प्रमखु लगायत कांग्रेसका प्रतिनिधि, नेता कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो । साथै कार्यक्रममा निर्माण सम्पन्न हुन बाँकि रहेको भक्तपुर कांग्रेस कार्यालयको लागि विभिन्न व्यक्तिहरुले सहयोग समेत गरेका थिए । उक्त सहयोग वापतको चेक बुझ्दै जिल्ला सभापति थापाले धन्यवादन ज्ञापन समेत गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्