विनाशको प्रतीकबाट सम्भावनातर्फ: कोशी किनारको रूपान्तरणमा पर्यटन व्यवसायी राम सुन्दर बके

काठमाडौँ – वर्षौँदेखि बाढी, कटान र विस्थापनको पीडाले चिनिँदै आएको सप्तकोशी नदी पछिल्ला वर्षहरूमा नयाँ पहिचान बनाउँदैछ । ‘विनाशको नदी’ भनेर चिनिने कोशी अहिले विकास, रोजगारी र पर्यटनको सम्भावनाको केन्द्रमा रूपान्तरण हुँदै गएको छ, जसको पछाडि स्थानीय अभियन्ता राम सुन्दर बकेको निरन्तर पहल निर्णायक बनेको छ।

कोशी किनारमा लुकेका पर्यटकीय सम्भावनाको पहिचान गर्दै बकेले स्थानीय समुदाय, व्यवसायी र स्थानीय तहलाई एउटै धारमा ल्याउने प्रयास गर्नुभयो। “पहिले कोशीको नाम सुन्नासाथ बाढी र डर मात्र सम्झिन्थ्यौँ, तर सही सोच र सहकार्यले यही नदी अवसरको स्रोत बन्न सक्छ भन्ने विश्वास दिलाउन खोजेँ,” पर्यटन व्यवसायी बके भन्नुहुन्छ ।

उहाँको पहलपछि बराह क्षेत्र–सिसौलीघाट आसपासको क्षेत्र पर्यटकको आकर्षण बन्दै गएको छ । विशेषगरी सूर्यास्त अवलोकन गर्न दैनिक ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । प्राकृतिक सौन्दर्यसँगै सिसौलीघाट–बोराबाँध क्षेत्रमा सुरु गरिएको मोटरबोट सेवा पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ।

पर्यटनको चहलपहलसँगै कोशीको बगर क्षेत्रको जीवनशैली नै बदलिन थालेको छ । पहिले उत्पादन नहुने खेत र सुनसान बगरमा अहिले साना होटल, स्थानीय परिकार, किराना पसल, हस्तकला तथा सेवा व्यवसाय फस्टाउँदै गएका छन् । “पहिले बगरमा बस्दा डर मात्रै थियो, आज यही ठाउँमा दिनमै राम्रो आम्दानी हुन्छ,” एक स्थानीय व्यवसायी भन्छन्।

रामसुन्दर बकेको पहल स्थानीय तहसम्म प्रभावकारी बनेको छ । उहाँले पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष कपिल आचार्यलगायत जनप्रतिनिधिसँग निरन्तर संवाद गर्नुभयो । बकेको भनाइमा, पालिका नेतृत्वको सकारात्मक भूमिकाले जग्गा पहिचान, व्यवस्थापन र सहकार्य सहज बनेपछि परियोजना अघि बढ्न सम्भव भयो।

पहिले प्रायः सुनसान रहने कोशी किनार अहिले पूर्वकै एक आकर्षक मनोरञ्जनस्थलमा परिणत भएको छ । भारतको गोवाको झल्को दिने शैलीमा सूर्यास्तसँगै फोटो खिच्ने, समूहगत भ्रमण गर्ने र स्थानीय खानाको स्वाद लिने पर्यटकको भीड बढ्दै गएको छ । माछा मार्ने माझीदेखि कृषिमा निर्भर परिवारसम्म अहिले पर्यटनबाट प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिन थालेका छन् ।

बकेका अनुसार यो यात्रा अझै सुरुआतमै छ । स्थानीय समुदाय, व्यवसायी र पर्यटन अभियन्ताहरूले सरकारले सप्तकोशीलाई औपचारिक रूपमा पर्यटन क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका छन् । साथै पूर्वाधार विकास, सरसफाइ व्यवस्थापन, आतिथ्य सत्कार तालिम र पर्यटन व्यवसायसम्बन्धी जनचेतना कार्यक्रम आवश्यक रहेको उहाँ बताउँनुहुन्छ ।

“कोशीलाई बुझेर र सही तरिकाले उपयोग गरियो भने यो दुःखको होइन, विकासको नदी बन्छ,” राम सुन्दर बके भन्नुहुन्छ। कहिल्यै डरको प्रतीक बनेको कोशी आज उनका प्रयासका कारण स्थानीयको भविष्य कोर्ने आशाको नदी बन्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्