पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेकोमा अपिहिमाल गाउँपालिका सम्मानित

दार्चुला । नेपालको ग्रामीण पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेको भन्दै अपिहिमाल गाउँपालिका (दार्चुला) लाई नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मान गरेको छ।

विश्व पर्यटन दिवस–२०२५ को अवसरमा आयोजित विशेष कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र प्रदान गरेका हुन्।

गाउँपालिकाले पछिल्ला वर्षहरूमा ‘अर्गानिक अपि’ अभियान, एग्रो–टुरिजम प्रवर्द्धन, तथा स्थानीय संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणमार्फत ग्रामीण पर्यटनमा नयाँ पहिचान बनाएको छ। हिमाली क्षेत्रको स्वच्छ वातावरण, परम्परागत पाहुना सत्कार र स्थानीय परिकारको प्रयोगले पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको छ।

यसअघि पनि केही दिनअघि, विश्व खाद्य दिवस–२०२५ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाका रूपमा सम्मान गरेको थियो।

त्यस अवसरमा गाउँपालिकाले विषादीरहित खेती, स्थानीय अन्न र फलफूल उत्पादनमा योगदानका कारण ‘अर्गानिक अपि’ अभियानमार्फत राष्ट्रिय पहिचान स्थापित गरेको थियो।

अध्यक्ष भक्तसिंह ठेकरे बोहराले दोहोरो सम्मान गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक र स्थानीय पर्यटन व्यवसायीहरूको संयुक्त प्रयासको नतिजा भएको बताए।

उनका अनुसार,“हामीले कृषि, वातावरण र पर्यटनलाई एकसाथ अघि बढाएका छौं। यसले अपिहिमाललाई ‘अर्गानिक र टुरिजम गाउँपालिका’को रूपमा स्थापित गरेको छ।”

साथै उनले भविष्यमा ‘एक घर–एक होमस्टे’ अभियानमार्फत पर्यटन र रोजगारी सिर्जनामा थप योगदान दिने योजना रहेको जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्