काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका-८ मा आपसी विवादका क्रममा भएको झगडामा एकजनाको हत्या भएको छ। शुक्रबार राति स्थानीय पसलमा रक्सी सेवनका क्रममा विवाद बढ्दै जाँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटी हत्या गरिएको प्रहरीले जनाएको छ।
हत्या गरेको आरोपमा सोही नगरपालिका-८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।पसलमा बसेर रक्सी खाँदै गर्दा सुरुमा गालीगलौज भएपछि झगडा भएको पाइएको छ। विवाद तीव्र भएपछि विक र क्षेत्रीले धारिलो हतियार प्रयोग गरी राति करिब ११ः४५ बजे केशरसिंहको हत्या गरेका हुन्।
हत्या गरेपछि विक र क्षेत्रीले केशरसिंहको टाउको लिएर आफ्नै आफन्तकोमा पुगेका थिए। आफन्तले लुक्नुभन्दा प्रहरीमा जान सुझाव दिएपछि उनीहरू प्रहरीमा आत्मसमर्पण गर्न आएका बेला नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरू हातमा टाउको बोकेर प्रहरी कार्यालयतर्फ आउँदै गर्दा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानमा विक र क्षेत्रीको मृतकसँग पहिलेको परिचय नभएको पाइएको छ। पहिले चिनजान नभएकाले घटना रक्सी सेवनपछिको आवेशमा भएको देखिन्छ र हाल घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






