पूर्वराष्ट्रपति भण्डारीद्वारा पार्टी सदस्यता नवीकरणप्रति लिखित पत्रमार्फत आफ्नो धारणा सार्वजनिक

काठमाडौं – नेकपा (एमाले) की वरिष्ठ नेतृ तथा पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले पार्टी सदस्यता नवीकरणको विषयमा उठेका प्रश्नप्रति लिखित पत्रमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन्।

२०७२ सालमा राष्ट्रपति निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी भण्डारीले पुनः सामान्य नागरिकको भूमिकामा फर्किएपछि पार्टी नेतृत्वको सल्लाहअनुसार सदस्यता नवीकरण गरेको बताएकी छन्। उनले २०८२ साल असार १४ गते मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको मदन भण्डारीको ७४औं जन्मजयन्ती कार्यक्रममा आफूले विधिवत रूपमा सदस्यता नवीकरण भइसकेको कुरा सार्वजनिक गरेको स्मरण गराइन्।

भण्डारीले पार्टीको श्रावण ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकमा आफ्नो नवीकृत सदस्यता माथि प्रश्न उठाइएकाले यो विषय केवल व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको बताएकी छन्। पत्रमार्फत उनले भनिन्, “मैले जीवनको लामो समय देश, जनता र पार्टीका लागि समर्पित गरेकी हुँ। महिला अधिकार, मानव अधिकार र न्यायका लागि कहिल्यै पछि हटेकी छैन। मेरो नवीकृत सदस्यतामा प्रश्न उठाउनु केवल मेरो व्यक्तिगत अपमान मात्र होइन, लोकतान्त्रिक संस्कृतिमाथि प्रहार हो।”

उनले पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू नवीकरणपश्चात् सम्पन्न हुँदा कुनै प्रश्न नउठाइए पनि अहिले विवाद सिर्जना हुनु दुःखद भएको जनाइन्। साथै, जनवादी केन्द्रीयता पार्टीको मूल सिद्धान्त भएकाले सदस्यता नवीकरणलाई अस्वीकार गर्नु पार्टी विधान र लोकतान्त्रिक मूल्यसँग मेल नखाने दाबी गरिन्। भण्डारीले थपिन्, “मेरो सदस्यताको सवाल व्यक्तिगत नभई सम्पूर्ण सदस्यहरूको आस्था, विश्वास र अधिकारसँग जोडिएको विषय हो। यसलाई निष्क्रिय बनाउने प्रवृत्तिले पार्टीको प्रतिष्ठा, शक्ति र एकतालाई नै कमजोर बनाउँछ।”

अन्त्यमा उनले पार्टीलाई अझ सबल र एकताबद्ध बनाउन विधान महाधिवेशनका प्रतिनिधिहरूले आफ्नो आग्रहलाई गम्भीरतापूर्वक लिनुपर्नेमा विश्वास व्यक्त गरेकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्