अफगानिस्तानमा ६.३ तीव्रताको भूकम्प, कम्तीमा २५० को मृत्यु, ५०० भन्दा बढी घाइते

काठमाडौं – आइतबार राति अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ ।

भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको ६.३ तीव्रताको यो भूकम्पको केन्द्र जमिनमुनि करिब १६० किलोमिटर गहिराइमा रहेको नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।

पहिलो झट्कापछि लगातार परकम्पहरू आइरहेका छन्, जसमा ४.३, ४.७ र ५.० तीव्रताका परकम्प मापन गरिएको छ । दुर्गम र कठिन भूभाग भएका प्रभावित प्रान्तहरूमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । भूकम्प प्रतिरोधी नभएका घरहरू ढलेका कारण मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत भूकम्पले पूर्वी प्रान्तहरूमा ठूलो जनधनको क्षति पु-याएको उल्लेख गर्दै उद्धार तथा राहतका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यसअघि, सन् २०२३ को अक्टोबर ७ मा अफगानिस्तानमा गएको विनाशकारी भूकम्पमा सरकारी तथ्यांकअनुसार ४ हजार मानिसको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघले भने त्यतिबेला १ हजार ५०० जनाको मृत्यु पुष्टि गरेको थियो ।

गएरातिको भूकम्प राजधानी काबुलबाट करिब १०० माइल दूरीमा रहेको जलालाबाद केन्द्र भएर गएको हो । मृतक र घाइतेहरूको संख्या अझै बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्