काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा सर्वदलीय प्रतिनिधि मण्डलले मंगलबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग भेटवार्ता गरेको छ।

प्रतिनिधि मण्डलमा नेकपा (एमाले) का गणेश सिंह ठगुन्ना, केन्द्रीय सदस्य हरदेब जोशी, पूर्व जिल्ला अध्यक्ष प्रेम सिंह धामी, साथै जिल्लाका प्रख्यात उर्जा व्यवसायी तथा नेपाल विद्युत प्राधिकरणका पूर्व महाप्रबन्धक कीर्तिनिधि चन्द, करण चन्द, पूजा चन्दलगायतको टोलीले भेटवार्ता गरेको हो ।
भेटवार्तामा पूर्वमन्त्री बडूले प्रतिनिधि मण्डलका तर्फबाट उर्जा व्यवसायीले भोग्दै आएका समस्याहरू उठाउँदै, नेपाल सरकारको नीति कार्यक्रममा समावेश बालाँच–जौल्जीबी प्रसारण लाइन र दार्चुला जिल्लाको समग्र विद्युतिकरण कार्य छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो ।
जवाफमा मन्त्री खड्काले उक्त परियोजना तथा कार्यहरू आफ्नो अत्यन्तै प्राथमिकतामा रहेको बताउँदै, छिट्टै सकारात्मक परिणाम प्राप्त हुने प्रतिबद्धता व्यक्त गरेका छन्।







