काठमाडौँ- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले शुक्रवार दुई वटा नवनिर्मित सरकारी कार्यालय भवनको उद्घाटन गरेका छन्। उनले पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालय कैलाली र भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धनगढीका नयाँ भवनको उद्घाटन गर्दै निरीक्षणसमेत गरे।
दुवै भवन शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीमार्फत गत आर्थिक वर्षको वार्षिक योजना अन्तर्गत ठेक्का प्रक्रिया मार्फत निर्माण सम्पन्न गरिएको हो। कार्यालयका प्रमुख डम्बर धितालका अनुसार प्रत्येक भवनको लागत अनुमान करिब १ करोड ९२ लाख ६० हजार रुपैयाँ थियो, जुन एक वर्षभित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको हो।

पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालयको भवन निर्माणका लागि १६ बैशाख २०८१ मा १ करोड १२ लाख १४ हजारमा ठेक्का सम्झौता भएको थियो। सो भवन निर्माण व्यवसायीले तोकिएको समयमै सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो। यस्तै, भूमिगत जलस्रोत तथा सिंचाइ कार्यालयको भवन पनि समान लागतमा सम्झौता भई समयमै निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको छ।
उद्घाटन कार्यक्रममा मन्त्री पालले कार्यालयहरू पहिले जीर्ण अवस्थामा रहेको स्मरण गर्दै प्रदेश सरकारले कार्यालय सुदृढीकरणका लागि बजेट विनियोजन गरेको बताए। उनले कार्यालयको भौतिक संरचना व्यवस्थित भए मात्र सेवा प्रवाह प्रभावकारी हुने भएकाले अहिलेको पूर्वाधारले प्रशासनिक कार्यलाई सहज बनाउने अपेक्षा व्यक्त गरे।
मन्त्री पालले कतिपय निर्माण व्यवसायीले समयमै काम नसकाउने प्रवृत्ति देखाएका बेला कम बजेटमा गुणस्तरीय र समयमै निर्माण सम्पन्न गरेको कार्यको प्रशंसा गर्दै निर्माण व्यवसायीलाई धन्यवाद समेत दिए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद र मन्त्रालयका सचिव प्रेमदत्त भट्टको समेत उपस्थिति थियो। नवीन संरचना उद्घाटनसँगै कार्यालयहरूले अब नागरिकलाई अझ प्रभावकारी सेवा दिन सक्ने विश्वास व्यक्त गरिएको छ।






