भिजिट भिसा प्रकरण : रास्वपा–राप्रपाको विरोधबीच संसद बैठक जारी

काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन्। उनीहरूको नाराबाजीका बीच संसद बैठक सभामुख देवराज घिमिरेको अध्यक्षतामा नियमित रूपमा सञ्चालन भएको छ।

बैठक सुरु भएलगत्तै राप्रपा र रास्वपाका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए। सभामुख घिमिरेले सांसदहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले मानेनन्। त्यसपछि सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए।

श्याम घिमिरेले आफ्नो भनाइको क्रममा नैतिकताको विषय उठाउनासाथ रास्वपाका सांसदहरू वेलतिर आएर चर्को नाराबाजी गर्न थाले। राप्रपाका सांसदहरू भने आ–आफ्नो स्थानमा उभिएर विरोध जनाइरहेका थिए।

यद्यपि, संसदमा एकजना सांसद उभिए पनि बैठक सञ्चालन नगर्ने परिपाटी प्रचलनमा रहे पनि सभामुख घिमिरेले कार्यसूचीअनुसार बैठक अघि बढाएका छन्।

सभामुखले एमाले सांसद योगेश भट्टराई, माओवादी केन्द्रका देवेन्द्र पौडेललगायतलाई बोल्न समय दिएका थिए। त्यसपछि रास्वपाका सांसद सन्तोष परियारलाई समेत बोल्न समय दिइएको थियो, तर उनले बोल्न अस्वीकार गरे। नाराबाजीबीच नै सभामुखले रामप्रकाश चौधरीलाई समेत मन्तव्यका लागि समय दिएका थिए।

संसदमा भिजिट भिसा प्रकरणको विरोध चर्कँदै जाँदा विपक्षी दलहरूको दबाब र सभामुखको कार्य सञ्चालन क्षमताबीच तनावपूर्ण अवस्था देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्