टिकटकमार्फत साम्प्रदायिक उत्तेजना फैलाएको आरोपमा रमा बस्नेत पक्राउ

काठमाडौं – टिकटकमा सक्रिय रमा बस्नेतलाई सामाजिक सद्भावमा खलल पु-याएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो।

ब्युरोले एक प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतले नियोजित रूपमा टिकटकमार्फत जातीय तथा साम्प्रदायिक भावना भड्काउने कार्य, प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायको चरित्र हत्या गर्ने किसिमका सामग्री पोस्ट गरेको बताएको छ। ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार, भिडियो सामग्रीका आधारमा प्राविधिक विश्लेषण तथा अनुसन्धान पश्चात् उनलाई पक्राउ गरिएको हो। उजुरीकर्ताको परिचय भने गोप्य राखिएको छ।

बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। एक स्रोतका अनुसार, बस्नेतविरुद्ध सरकारी तहबाटै उजुरी परेको छ। “एउटा मन्त्रालयको लेटरप्याडमै उजुरी आएको थियो,” स्रोतले जानकारी दिएको छ। साथै, अन्य थुप्रै व्यक्तिगत तथा संस्थागत जाहेरीहरू पनि आएको र थप आउने क्रम जारी रहेको जनाएको छ।

बस्नेतले नेपाली सेनाको पोसाक लगाएर टिकटक बनाएको आरोपसमेत छ। यद्यपि नेपाली सेनाले उनलाई पक्राउ गर्न भने निर्देशन दिएको थिएन। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भने, “हाम्रो साइबर सुरक्षा निकायले उहाँले पोसाक लगाएर भिडिओ बनाएको थाहा पाएपछि नेपाल प्रहरीको साइबर ब्युरोलाई हटाउनका लागि मात्र पत्राचार गरिएको हो।”

साइबर ब्युरोले यस विषयलाई गम्भीर रूपमा लिँदै अनुसन्धान जारी राखेको जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्