काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणममा गृहमन्त्री रमेश लेखकविरुद्ध कुनै तथ्य र प्रमाण नदेखिएपछि पार्टी कार्यालयमा नक्कली पीडितहरू खडा गरेर कीर्ते उजरी दिने काम गरेको खुलासा भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले आफूविरुद्ध रास्वपाले गरिरहेको कीर्ते धन्दाको पर्दाफास गर्नु भएको हो ।
रास्वपाको पार्टी कार्यालय बनस्थलीमा तयार गरिएको तथाकथित जाहेरी बोकेर मंगलबार गोरखाका मनोज गुरुङसहितको टोली गृहमन्त्री लेखकविरुद्ध उजुरी दिन अख्तियार पुगेको खुलेको हो । रास्वपाका नेताहरुले नक्कली पीडित खडा गरेर गृहमन्त्री लेखकविरुद्ध प्रोपागाण्डा मच्चाउने र कीर्ते पीडित खडा गरेर उजुरी खडा गर्ने गरेको पाइएको छ । प्रधानमन्त्री कार्यालय र संसद् सचिवालयमा पनि रास्वपा कार्यालयमा तयार भएको कथाकथित पीडितले नै उजुरी दिएको पाइएको छ । रास्वपाको कीर्ते धन्दामा संलग्नमाथि कारबाहीका लागि गृह प्रशासन तयारी थालेको छ । त्यसको संकेत संसदमा गृहमन्त्री लेखकले गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘केही पार्टीका कार्यालयहरुमा नक्कली तथाकथित पीडितहरुलाई बोलाएर जाहेरी लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’
कीर्ते, जालसाझी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्री लेखकको चेतावनी थियो । ‘यस्ता अपमानजनक कार्यहरू, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ,’ उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘तपाईका पार्टी कार्यालयहरु कीर्ते र नक्कली पीडितहरू खडा गर्ने पार्टी कार्यालय बन्दैछन् । यसमा तपाईंहरू सचेत हुनुस् । किनभने तपाईंहरू सम्भावना बोकेको हुनुहुन्छ ।’
‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।
आफ्नाविरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयत्न भएको भन्दै संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई मन्त्रीसँग जोडेर जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो भन्ने गृहमन्त्री लेखकको प्रतिप्रश्न थियो ।
यस्तो छ कथाकथित पीडितको कीर्ते उजुरी







