भारतको हवाई आक्रमणपछि अमेरिका, चीन र रुसले मुख खोले, को कसको पक्षमा ?

 

भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि अमेरिका, चीन, रुस, क़तरलगायत अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन्।

भारतले मङ्गलबार मध्यरातपछि पाकिस्तान र पाकिस्तान प्रशासनअन्तर्गत रहेको कश्मीर क्षेत्रमा ‘अपरेसन सिन्दुर’ अन्तर्गत लक्षित हवाई आक्रमण गरेको पुष्टि गरेको छ। पाकिस्तानले आक्रमणमा २६ जनाको मृत्यु र ४६ जना घाइते भएको जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारतको सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेका छन्। उनले भने, “दुनियाँले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन।”

अमेरिका, चीन, रुस र अन्य मुलुकहरूको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई “दुर्भाग्यपूर्ण” भन्दै चाँडै शान्ति स्थापनाको आशा व्यक्त गरे। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि संयमता र वार्तामार्फत समाधान खोज्न भारत र पाकिस्तान दुवैलाई सुझाव दिएका छन्।

चीनले भारतको कारबाहीलाई “अफसोसजनक” बताउँदै तनाव घटाउन आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयले दुवै देशसँग संयमता अपनाउन र जटिलता नबढाउने अपिल गरेको छ। रुसले गहिरो चिन्ता व्यक्त गर्दै आतंकवादको कठोर निन्दा गरेको छ। उसले भारत–पाकिस्तान विवादको शान्तिपूर्ण समाधानको समर्थन गर्दै द्विपक्षीय वार्ताको वकालत गरेको छ।

इजरायलले भारतको आत्मरक्षाको अधिकारको समर्थन गरेको छ भने क़तारले भारत–पाकिस्तानबीचको तनावलाई कूटनीतिक तरिकाले समाधान गर्न जोड दिएको छ। टर्कीले पनि भड्काउने क्रियाकलापको निन्दा गर्दै पहलगाम हमलाको छानबिनको पाकिस्तानको मागलाई समर्थन गरेको छ। फ्रान्सले भारतको सुरक्षाको अधिकारको सम्मान गर्दै नागरिक सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेको छ।

इरानको मध्यस्थता प्रस्ताव

तनावबीच इरानका विदेशमन्त्री सैयद अब्बास अराग़ची दिल्ली आइपुगेका छन्। उनले राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। यसअघि उनले इस्लामाबादमा पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुखसँग भेट गरेका थिए। इरानले भारत–पाकिस्तानबीचको विवादमा मध्यस्थता गर्न तत्परता जनाएको छ।

पाकिस्तानको राष्ट्रसंघमा अपिल

पाकिस्तानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई भारतको कारबाहीबारे जानकारी दिँदै त्यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा उत्पन्न गरेको बताएको छ। पाकिस्तानले संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अनुसार आफूलाई उत्तर दिन अधिकार भएको बताएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्