महामारीका बेला प्रेस स्वन्तन्त्रता कुण्ठित हुने खतरा बढ्योः देउवा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बेला प्रेस स्वन्तन्त्रता कुण्ठित हुने खतरा बढेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइबार एक वक्तव्य जारी गर्दै देउवाले सरकारका अभिव्यक्ति र ब्यवहारबाट यसका संकेत देखिएको बताएका छन् ।

’संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छँदै थिए, लकडाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ,’ वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा देउवाले भनेका छन्, ’प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टि राख्न मिल्दैन । प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?’ उनले वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र ब्यवहार सच्याउन पनि सार्वजनिक रुपले अपील गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पछिल्ला संवोधनहरुमा प्रेसका रिपोर्टिङहरुप्रति असन्तुष्टि प्रकट गर्दै आएका छन् ।

वक्तव्यमा देउवाले जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले भूमिका निर्वाह गरेको भन्दै आफ्नो पार्टीका तर्फबाट उच्च कदर र सह्राना गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्