तातोपानी नाकाबाट अनावश्यक सामान आयात, जनप्रतिनिधि आन्दोलित

सुशील सुवेदी
सिन्धुपाल्चोक – तातोपानी नाकाबाट कोरोना भाइरस (कोभिड १९) प्रतिरोधी स्वास्थ सामाग्री र खाद्यान्न भन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

तातोपानी भन्सारका कर्मचारी र व्यापारीहरुको मिलोमतोमा स्याउँ, लसुन जस्ता सामान तातोपानीमा आएको उनिहरुको भनाई छ । भोटेकोशी गाउँपालिका वडा नं १ का अध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ सामाग्री र अति आवश्यक खाद्यान्न मात्रै ल्याउन चीन र नेपालका प्रशासनिक र सूरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो । तर केही दिनदेखि अति आवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै भोटेकोशी गाउँपालिकाका वडा अध्यक्षहरुले शुक्रबार तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका बेला अनावश्यक बस्तु स्याउ , लसुन जस्ता सामान आयात हुन थालेपछि सीमावर्ति भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् ।

स्याउ र लसुन ल्याएको भन्दै भोटेकोशी गाउँपालिका वडा नं १ का अध्यक्ष शेर्पा, वडा नं २ का अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष कैलाश पौडेल र वडा नं ४ का अध्यक्ष साङदोर्जे शेर्पाले बैशाख १९ गते ज्ञापनपत्र बुझाएका हुन् । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडा अध्यक्षहरुले भन्सार कार्यालयमा सूरक्षा दिइरहेका प्रहरी मार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

भोटेकोशी गाउँपालिका २ का अध्यश्र दिपेन्द्र कुमार श्रेष्ठले कोरोना भाइरसका कारण लकडाउन भएको बेला नाकाबाट स्वास्थ सामाग्री र अति आवश्यक खाद्यबस्तु ( चामाल, दाल, तेल, नुन) मात्रै ल्याइनु पर्ने हो तर केही दिन अघि भन्सारका कर्मचारी, केही व्यापारी, प्रशासन, सूरक्षाकर्मीको मिलोमतोमा स्याउ र लसुन ल्याइएको प्रति आक्रोश व्यक्त गरे ।

नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने र केही गरि सो बस्तु काठमाडौं ल्याइजाने प्रयास गरे सो बारे वडा अध्यक्ष र स्थानीयले प्रतिकार गर्ने वडा अध्यक्षहरुले चेतावनी दिएका छन् । तत्कालका लागि कारोना भाइरस प्रतिरोधी सामाग्री बाहेकका सामान नल्याउन पनि वडा अध्यक्षहरुले भन्सार कार्यालयलाई आग्रह गरेका छन् ।

लकडाउनमा स्वास्थ सामाग्री र खाद्यान्न बाहेक स्याउ, लसुन लगायतका बस्तु ल्याएको खण्डमा वडाबासी र गाउँपालिकाबासी शसक्त प्रतिकार गरेर सो सामान चीन सबैको रोहबरमा नष्ट गर्ने वडा अध्यक्षहरुले बताएका छन् ।

भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यापारी र भन्सारका कर्मचारीको मिलोमत्तोमा सामान आएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्