महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुग्यो

महोत्तरी – महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापतिको मृत्यु भएको छ । यस्तै भङ्गाहा वडा नम्बर ६ जमुनियाँका ४८ वर्षीय पलट साह पनि शनिबार मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो । बर्दिवास वडा नम्बर १२ मेघरोल र भङ्गाहा वडा नम्बर ७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि शुक्रबारसम्म आठ जनाको मृत्यु भइसकेको छ । बर्दिवास १२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन्। भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निर्क्रोल गर्ने बताए । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डाक्टर अमृत पोखरेल तथा विश्व स्वास्थ्य सङ्गठनका डाक्टर सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको पोखरेलले बताए । मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव सिताई महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण होरहोइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । थारु, मुसहर, चमार, बाँतर सर्दारसहितका जनजाति र दलित समुदायको सघन बसोबास ती बस्तीमा रहेको छ । मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्