जेठ अन्तिम साता एसईई परीक्षा गर्न सिफारिस, सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव

काठमाडौं – विज्ञ सम्मिलित कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न सरकारलाई सिफारिस गरेको हो ।

शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट परीक्षा सञ्चालन गर्न सकिने बताएको हो ।

एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिने सुझाव कार्यदलले दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न पनि सुझाव दिइएको छ ।

मन्त्री पोखरेललाई बिहिबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १ देखि ९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भर्ना प्रकिया अगाडि बढाउने र विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ । सो सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएको छ । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्