अन्तिम खेलमा लखनसँग हारेपछि मुम्बइ पुछारमा

काठमाडौं – आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ । घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो ।

लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे । लखनउका नवीन उल हक र रवि विश्नाइले दुई/दुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एक/एक विकेट लिए ।

यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे । मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन/तीन विकेट लिए । यो हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्