सहकारी डुब्दा पन्छिएको सरकारले बैंक डुब्दा जिम्मा लिन्छ भनेर सर्वसाधारणले कसरी पत्याउने ?

आफ्नो दुःख, पसिना र मेहेनतले कमाउने मानिसलाई जे खाएपनि पच्छ र भुईँमै सुतेपनि निन्दा लाग्छ । चिकित्सकको भनाइअनुसार जो व्यक्ति निदाउँछ र उसलाई खाना पनि रुच्छ, त्यसलाई हतपत रोग लाग्दैन । सहकारीका कारण करोडौं बचतकर्ताको बिल्लीबाठ भएको छ । उनीहरु आफ्नो पैसा त गुमाए नै सँगै रोगी पनि भएका छन् । सहकारीका पीडित बचतकर्तालाई अहिले निन्द्रा लाग्दैन ।

उनीहरु रातभर छटपट्न्छिन् । कतिपय बचतकर्ता त डिप्रेसनमा गएका छन् । कसैसँग नबोल्ने, एक्लै बस्ने पनि समस्या पीडित बचतकर्ताहरुमा बढ्दै गएको छ । सहकारीले गर्दाआज करोडौं बचतकर्ता यस्तो अवस्थामा पुगेका छन् । बचतकर्ताहरुले जीवनभर दुःख गरेर कमाएको, विदेश गएर कमाएको वा पुख्यौली सम्पत्ति तथा घरजग्गा बेचेर आएको पैसा समेत सहकारीमा राखेका छन् । उनीहरु यो सम्झिन चाहँदैनन् तर दिमागदेखि मनसम्म नै आइहाल्छ ।

अहिले व्यापारीहरुलाई पनि रातमा निन्द्रा लाग्दैन । व्यापारव्यवसाय ठप्प छ । भाडा चर्को छ । अनि कसरी जीविकोपार्जन गर्ने भनेर उनीहरु चिन्तित छन् । त्यस्तै, घर धमाधम खाली हुन थालेपछि घरधनीहरुको पनि निन्द्रा भागेको छ । हिजो महँगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरु अहिले डुबेपछि उनीहरुको पनि निन्द्रा हराएको छ । घरजग्गा, गाडी र सेयर दलालीहरु डुबेपछि बिहानैदेखि भट्टी पसलमा हुन्छन् ।

अहिले सहकारीमा पैसा डुबेका बचतकर्ता, घरजग्गा, गाडी र सेयरमा डुबेका मानिस तथा व्यापारीहरु राति निदाउन कि त औषधी सेवन गर्छन् कि मदिरा पिउँछन् । कतिपय बचतकर्तासँग नै निन्द्रा लाग्ने औषधी समेत किनेर खान पैसा छैन । अहिले बैंक पनि डुबेको सर्वसाधारण नै बताउँछन् । यद्यपि, बैंकहरुको छाता संगठन बैंकर्स संघका पदाधिकारीहरु अर्थमन्त्री वा सरोकारवालालाई फर्काएर अम जनमानसमा भ्रम छरिरहेका छन् । संघका पदाधिकारीहरु कहिले प्रधानमन्त्री त कहिले गर्भनर भेट्न पुग्छन् । फेरि कहिले बैंक डुबेको छैन भन्दै पत्रकार सम्मेलन गर्छन् । र, विज्ञप्ति निकाल्छन् ।

बैंकर्स सघजसरी नै दुई वर्षअघि राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुले पनि यस्तै गरेका थिए । महासंघका पदाधिकारीहरु प्रधानमन्त्री, अर्थमन्त्री, सहकारीमन्त्री भेट्न पुग्थे । सहकारी डुबेको छैन, भाग्दैन भन्दै पत्रकार सम्मेलन गर्थे र विज्ञप्ति निकाल्थे । तर, आज मुलुकभरका सहकारी डुबेका छन् । बचतकर्ताहरुको खर्बौ रकम सहकारीमा फसेको छ । यद्यपि, महासंघ अहिले केही बोल्दैन ।

करिब तीन वर्षअघि आनाको ४० देखि ५० लाखमा किनेको जग्गा अहिले त्यसको आधाको आधा मूल्यमा बेच्छु भन्दा समेत बिक्री भइरहेको छैन । ३५ सय कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री हुन्न । ३० लाखमा किनेको गाडी अहिले त्यसको आधा मूल्यमा पनि बिक्दैन । बजारमा कोठा, सटर र फ्ल्याट धमाधम खाली भएका छन् ।

जताततै ‘कोठा खाली’, ‘सटर भाडामा वा बिक्रीमा’, ‘फ्ल्याट खाली’, लगायत लेखिएका पोस्टर देखिन्छन् । सटर खोलेर बसिरहेका व्यापारीहरु पनि व्यापार छैन भन्छन् । कहिले काँही त बहनी समेत नहुने उनीहरुको भनाइ छ । अहिले भाटभटेनी, बिग मार्ट, सुपर मार्केटमा पनि मानिसहरु किनमेल गर्न गएको देखिदैंन । त्यहाँ पनि ग्राहक घट्दै गएका छन् । होटल, रेस्टुरेन्टमा पनि मान्छे नै छिदैंनन् ।

निजी संघसंस्था, पसल, फार्म, होटल, रेस्टुरेन्टमा काम गर्नेहरुले वर्षौदेखि तलब नपाएको सुनिन्छ । काठमाडौं उपत्यकाभित्र सञ्चालित होस्टेलहरु पनि खाली हुँदै गएका छन् । दुई वर्षअघि उपत्यकामा एउटा कोठा, सटर र फ्ल्याट खोज्न छ महिना खोज्नुपथ्र्यो । यति खोज्दा पनि नपाएपछि दलाली कहाँ पुग्थे, मानिसहरु । तर, अहिले उपत्यकाभित्रै जताततै कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन् ।

घरधनीहरु धमाधम घर खाली हुन थालेपछि भौतारिएका छन् । उता, मालपोत, यातायात कार्यालयमा लेखनदास गर्ने वा कानून व्यवसायीहरु त्यहाँ सेवाग्राही आउन ठप्प भएपछि वा आम्दानी शुन्य भएपछि कोठा छोडिरहेका छन् । अहिले मालपोत, यातायात कार्यालयहरु सुनसान छन् । मानिसको चहलपहल छैन । घरजग्गा र गाडी किन्ने कोही छैन । अर्थ मन्त्रालयले केही दिनअघि सेयरको ब्रोकर कमिशन घटायो ।

यद्यपि, सेयर कारोबार भने बढेको छैन । दलालीहरुले बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर चार हजारमा बेचेका थिए । आनाको पाँच हजारमा बिक्री नभएको जमिन प्लाटिङ गरेर लाखदेखि करोडमा बेचे । छिमेकी मुलुकहरु भारत र चीनमा लाख नपर्ने सवारीसाधन यहाँ ल्याएर २५–४० लाखमा बेचे । फेरि सहकारीदेखि बैंकसम्मले आँखा चिम्लेर यी क्षेत्रमा लगानी गरेका थिए ।

यो क्षेत्रमा मन्दी आउनासाथ सहकारीमा समस्या देखियो । र, सहकारीहरु भटाभट भाग्न थाले । सहकारी भाग्दा करोडौं बचतकर्ताको रुवाबासी भएको छ । बचत डुबेपछि उनीहरु ‘मर्नु कि बाँच्नु’ अवस्थामा पुगेका छन् । अहिले बैंक पनि डुब्ने संकेत देखिएको छ । किनकि बैंकको पनि त लगानी यँही क्षेत्रमा छ । तर, बैंकहरुले अहिले पनि सर्वसाधारण, सञ्चार माध्यम र सरकारलाई भ्रममा राखिरहेका छन् । बैंकका सञ्चालकहरु अर्थमन्त्री, प्रधानमन्त्री र गर्भनरलाई भेटिरहेका छन् । तर, प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई भेट्दैमा घरजग्गा, गाडी र सेयरको कारोबार पहिलाकै लयमा फर्किन्छ ?

सर्वसाधारण जनताको घरजग्गा, गाडी र सेयरप्रतिको आकर्षण घट्दै गएको छ । किनकि उनीहरुले हिजो दलालीहरुले आफुहरुलाई कसरी फसाएका थिए ? भनेर बुझिसकेका छन् । त्यसकारण अब बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य बढ्ने होइन, उल्टै घट्ने छ । कुनै पनि वस्तुको माग बढेपछि त्यसको मूल्य पनि बढ्छ । तर, बजारमा माग नै छैन भने मूल्य कसरी बढ्छ ? यसरी नै अहिले बजारमा घरजग्गा, गाडी र सेयरको माग छैन ।

त्यसैले, अब यसको मूल्य झनै घट्ने देखिन्छ । ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय सस्थाको नाममा छ । अहिले ऋणीहरुले ‘हामी ऋण तिर्न सक्दैनौं, बरु धितो लिलाम गर’ भनेर हात उठाइसकेका छन् । केही दिनअघि अर्थमन्त्री वर्षमान पुनले व्यवसायीहरुको कार्यक्रममा सरकारले व्यापार गर्ने होइन, व्यापार गर्न सहज मात्र गरिदिन बताएका थिए । राष्ट्र बैंक जनतालाई भ्रममा पारिरहेको छ ।

राष्ट्र बैंक भन्छन्, ‘बैंकहरुमा पैसा थुप्रियो ।’ तर, पैसा बैंकमा नभई सर्वसाधारणको घरमा थुप्रिएको छ । अहिले बैंकबाट पनि जनताको विश्वास गुमेको छ । बचतकर्ताहरु भटाभट बैंकबाट आफ्नो निक्षेप निकालिरहेका छन् । बैंकमा बचत गर्ने र कर्जा लिने नै कोही छैन । केही वर्षअघि तत्कालिन सहकारीमन्त्री र सहकारी महासंघले सहकारी भाग्दैन, डुब्दैन भनिदिँदा आज करोडौं बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।

हिजो सरकारको झुट्टो कुरामा भर पर्दा आज बाटोमा साग वा पानी बेचेर, अरुको घरमा काम गरेर कमाएको पैसा सहकारीमा राख्नेहरु समेत नराम्ररी डुबेका छन् । अब सरकारले जनतालाई झुट्टा आश्वासनमा राख्नुहुन्न । भ्रममा पारिरहनु हुन्न । सरकार जनताको अभिभावक हो । बैंक तथा वित्तिय संस्थाहरुको सम्पूर्ण कर्जा घरजग्गा, गाडी र सेयरमा छ भनेर सर्वसाधारणदेखि सरकारसम्मले थाहा पाइसकेको छ ।

बजारमा यो क्षेत्रमा पूरै मन्दी छ । सहकारीमा बचतकर्ताहरुको पैसा डुब्दा सरकारले जिम्मा लिएन । पीडित बचतकर्ताहरुले पटकपटक आन्दोलन गरे । अनसनमा बसे । त्यतिखेर तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारलाई सोधेर सहकारीमा पैसा राखेको हो भन्दै सहकारीमा डुबेको पैसा सरकारले फिर्ता गर्न नसक्ने तर सहकारीका सञ्चालक, अध्यक्षहरुलाई कारबाही गर्ने बताए ।

अहिले पनि सरकारले बचतकर्ताको फिर्ता खाने सहकारीका अध्यक्ष, सञ्चालकहरुलाई पक्राउ गर्न सकेको छैन । सहकारीले करोडौं बचतकर्ताको ३९ खर्ब खाइदिएको छ । सहकारी डुब्दा त सरकार पन्छियो । अनि बैंक डुब्दा सरकारले जिम्मा लिन्छ भन्ने के ग्यारेन्टी छ ? अब राष्ट्र बैंकका गर्भनर, अर्थमन्त्री, प्रधानमन्त्रीले यसको जवाफ दिनैपर्छ ।

अब सरकारले बैंक डुब्दा त्यसको जिम्मा लिन्छ कि लिँदैन भनेर अहिले नै सर्वसाधारणलाई प्रष्ट पारिदिनुपर्छ । किनकि हिजो सहकारी डुब्दा स्थानीय तहदेखि प्रदेश, संघ समेत पन्छियो । र, आज पजि पन्छिँदैछ । त्यसैले, अब सरकारले कि त जनतालाई समयमै सचेत गराउनुपर्छ कि जनताको पैसाको जिम्मा सरकारले लिन्छ भनेर भन्नुपर्छ । सर्वसाधारण जनता पनि सतर्क रहनुपर्छ । आफ्नो पैसा बैंकमा सुरक्षित छ भनेर ढुक्क भएर घरमा बसिरहनु हुन्न ।
रुषा थापा
भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्