आईपीएल क्रिकेट: हिजो भएको खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएका छन् । गएराति भएको खेलमा कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । कोलकाताले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर १ बलमा १ सय ३७ रनमा समेटियो । लखनउका मार्कर स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कोलकाताका नवीन उल हकले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । उसका सुनिल नारिनेले ८१ रन बनाए । जितसँगै अहिलेसम्म खेलेका ११ खेलमा ८ मा जित र ३ मा हार व्यहोरेर १६ अङ्कका साथ कोलकाता तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ११ खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा छ ।

यसअघि हिजो भएको पहिलो खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ । चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच खेल हुनेछ । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्