धादिङको किम्ताङ्ग खोलामा निर्मित बेलिबृजको सांसद अधिकारी तथा प्रधान सेनापति शर्माद्वारा उद्‍घाटन 

काठमाडाैं – धादिङ जिल्ला खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृजको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त रूपमा समुद्‍घाटन गर्नु भएको छ ।

धादिङ जिल्लाको खनियावास गाउँपालिका र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा पक्की पुल नभएको कारण वर्षायाममा धादिङ जिल्लाको उत्तरी क्षेत्रका रुवी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री दवजोङ्ग गाउँपालिकाहरुमा आवतजावतमा कठिनाइ रहेकोले नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरद्वारा निर्मित र हाल प्रयोग विहीन बेलिबृजलाई नेपाली सेनाले उक्त स्थानमा जडान गरेको हो । पुल निर्माणसँगै करिव ६० हजार स्थानीय लाभान्वित हुनेछन् । नवनिर्मित बेलीबृजको लम्बाई ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भार वहन क्षमता ३० टन रहेको छ ।

उद्‍घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय बुद्धिमान तामाङ्ग र बिना लामा, प्रदेश सभा सदस्यद्वय डम्बर बहादुर तामाङ्ग र गोविन्द बहादुर लम्साल, पूर्व राज्य मन्त्री दिलमान पाख्रिन, जनप्रतिनिधिहरू, नेपाली सेनाका रथीवृन्द, अधिकृत, सञ्चारकर्मीहरु लगायत उल्लेख्य सङ्ख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्