सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोरको दाबी पेस

कैलाली – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। नेपाली काँग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपा पार्टीका मतसहित लक्ष्मण किशोर प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आइतवार दाबी पेस गरेका छन्। सुदूरपश्चिम सरकार निर्माणको लागि काँग्रेस, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम लाल चौधरी पक्ष तथा राप्रपाको अलग्गै समझदारी बनेको हो। केन्द्रमा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतका दलहरूको गठबन्धन रहेका बेला प्रदेशमा भने काँग्रेस, समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको रेशम चौधरी पक्षधरले अर्काे गठबन्धन गरेका हुन्।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहकाबिच समझदारी बनेपछि लक्ष्मण किशोरले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १८, समाजवादी र नागरिक उन्मुक्ति पार्टीका चार/ चार जना र एक राप्रपाका प्रदेश सभा सदस्यहरू एक भएका हुन्। यी ४ पार्टी मिलेर सुदूरपश्चिममा सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आवश्यक २६ मत उनीहरूको पुग्ने भएको छ। नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन्। उनीहरू अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका हुन्।

सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना आवश्यक हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको छ। नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्।
सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्। अब सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्