राष्ट्रिय खेलाडी मन्डे काजी श्रेष्ठको अगुवाईमा पैदलयात्रीलाई निःशुल्क खानाको व्यवस्था,२ हजारभन्दा बढीलाई सहयोग

निरज बाडे
भक्तपुर – काठमाडौं उपत्यका छाडेर पूर्वतर्फ जाने पैदल यात्रुलाई करातेका राष्ट्रिय खेलाडी एवम् समाजसेवी मन्डे काजी श्रेष्ठको अगुवाईमा निःशुल्क खाना खुवाई गाडी चढाएर पठाइदिने व्यवस्था गरिएको छ ।

यसै गरि राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) र वेभ ग्रुपका अध्यक्ष नरेश रन्जितको टोलीको सहकार्यमा यो काम गरिएको हो । टोलीले अरनिको राजमार्ग हुँदै गृह जिल्ला फर्कदै गरेका यात्रुहरुलाई खाजाको प्याकेट वितरण गरेको छ ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेको लगभग एक महिन हुन लागेको छ । यसबीचमा रातारात भोकभोकै हिँडेर भक्तपुरबाट काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा पैदल यात्रा गर्नेको संख्या बढेपछि उनीहरुलाई सहयोग गर्न थालिएको हो ।

‘यो समयमा हामी मात्रै खाँऊ र हामीमात्रै लगाऊँ भन्ने सोच्न हुँदैन। यस्तो महामारीमा कोही पनि भोकमरीको समस्यामा नपरुन भनेर खाजा वितरण गरेका छौं ।’ श्रेष्ठले भने ।

उनले आफूहरु सामाजिक दूरी कायम गरेर सहयोग गरेको बताए । ‘यो समयमा धेरै जोखिम छ । तर हामीले जनताको दुःख बुझेर निःस्वार्थ सहयोग गरिरहेका छौं,’ उनले भने ।

यता वेभ ग्रुपका अध्यक्ष नरेश रन्जितले ज्याला मजदुरी गरिरहेकाहरुलाई सहयोग गरिरहेको बताए । ‘हामीले मानव कल्याण सेवा आश्रमबाट सडकमा रहेका बालबालिका, बुद्धबृद्धाहरुलाई सहयोग गरिरहेका छौं,’ उनले भने,‘ राष्ट्रिय खेलकुद समिति भक्तपुरबाट बिहान ११ बजेदेखि १ बजेसम्म खानाको व्यवस्था गरिरहेका छौं ।’
यता राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) ले भक्तपुरबाट १५ सय बढीलाई उद्दार गरेर गृह जिल्ला फर्काएको बताए । यस्तै २ हजारभन्दा बढीलाई सहयोग गरेको पनि जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्