रत्नपार्कको भित्ते बगैँचामा २ सय फुल रोपिए

काठमाडौँ । काठमाडौँ महानगरले भित्ते वगैँचामा २ सय  फूल र लहरा वोटका विरुवा रोपिएको छ ।

पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा विरुवा रोपेका हुन् ।

आयोजना प्रमुख थापाकाअनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनबेलीमा पनि गुलावी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने विरुवा छन् । सामान्यतयाः यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी विरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।

हरियाली हुने विरुवामा होया, मनिप्लान्ट, आइभ्यूका विरुवा छन् । यी विरुवा लहरिँदै बढ्दै जान्छन् ।

यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका विरुवा रोपिएका छन् । लहराउने विरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा विरुवा लहराउन भित्ताभरि २/२ वर्गमिटरका जालीदार बार बनाइएको छ ।

आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो ।

सहरी सुन्दरता र हरियाली प्रवर्धनका लागि थालिएको यो कामको पैदल यात्रीहरुले प्रशंशा गर्दै हिँड्दै हुनुहुन्थ्यो । उहाँहरुको एउटै चिन्ता थियो, यी विरुवा चोरी होलान् कि नहोलान्? उहाँहरुको यो स्वतःस्फूर्त आवाज नै सहरी सुन्दरताका लागि महत्वपूर्ण छ । यसरी हेर्दा विरुवा जोगाउन मलजल र गोडमेल जति महत्वपूर्ण छ, उत्तिकै महत्वपूर्ण रोपिएका विरुवा चोरिनबाट जोगाउनु पनि हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्