माधव नेपालको अडानले बालुवाटार बैठक अनिर्णीत, प्रदेश सरकारहरु संकटमा !

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । प्रदेश सरकार भागबन्डाका लागि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्षविहिन बनेको हो ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएसँगै बैठक अनिर्णीत बनेको हो ।

स्रोतका अनुसार नेपालले सात प्रदेशमध्ये एकमा नेतृत्व दिनुपर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने र आफूलाई बाइपास गरेर यसअघि गरेका निर्णयप्रति पश्चाताप गर्नुपर्ने अडान राखेको छ ।

बैठकमा बागमतीमा विश्वासको मत दिन प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले नेपालाई आग्रह गरेका थिए । तर, बैठकमा कडा रूपमा प्रस्तुत भएका नेपालले बागमतीसहित सबै ठाउँमा एकीकृत समाजवादीको पोजिसन क्लियर हुनुपर्ने अडान राखेको ती नेताको भनाइ छ । प्रधानमन्त्रीको सचिवालयले पनि प्रदेश भागबन्डामा कुनै सहमति नभएको बताएको छ । शीर्ष बैठक बिनानिष्कर्ष टुङ्गिएपछि सोमबार विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अप्ठ्यारोमा परेका छन् । सोमबारसम्म एकीकृत समाजवादीसँग सहमति नभएमा बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने देखिन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्