विकास ऋणपत्रमार्फत् ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडाैं, २९ फागुन । नेपाल सरकारले ८ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।

 

८ अर्ब बराबरको रकम ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको हो । यसैगरी ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने साथै ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । जारी सुचना अनुसार ऋणपत्रमा इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी क्रमशः ८५% र १५% गरी छुट्याइएको छ ।

 

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

 

यसको निष्कासन मिति भने फागुन ३० गते तोकिएको छ ।बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्