गृह जिल्लामा यज्ञराज उपाध्याय राष्ट्रपतिबाट सम्मानित

अछाम – बरिष्ठ लोकगायक एवम् लोकसंस्कृतविद् यज्ञराज उपाध्याय गृह जिल्ला अछाममा सम्मानीत भएका छन्। १ सय ४४ वर्षमा आयोजित वैद्यनाथ कोटी होम ज्ञान महायज्ञको अवसरमा उपाध्यायलाई सम्मान गरिएको हो। अछामको माटोमा जन्मिएर लामो समयदेखि भाषा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै उपाध्यायलाई सम्मान गरिएको छ। महायज्ञको उद्घाटन राष्ट्रपति पौडेलले गरेकोमा सोही समारोहमा उपाध्याय सम्मानित भएका हुन्।

उपाध्यायले काली–कर्णालीको लोक साहित्यलाई अग्रभागमा राखेर ‘काली–कर्णालीको लोक साहित्य’ ग्रन्थ बजारमा ल्याएका छन्। ९८४ पृष्ठको पुस्तकमा काली–कर्णाली क्षेत्रका लोक साहित्यका सबै विधागत विषय समेटिएका छन्। लोकगीत, लोककथा, लोकगाथा, उखान, टुक्कालगायत सबै विषय समावेश भएका छन्। फाग, मागल, धमारी, चाँचरी, हुड्केउली, भुवो, रनपुतला, होरी, गौरा, अठवाली, भोलाउलो, ठाडो खेल, चैत जस्ता ६० वटा प्रमुख विधा, त्यसका उपविधा र त्यसमा गाइने गीतहरू पुस्तकमा समाविष्ट रहेका छन्। जुन शीर्षकबाट पढ्यो त्यहीबाट नयाँ विषयको उठान र पूर्ण जानकारी प्रदान गर्नेगरी उपाध्यायले पुस्तकलाई तयार पारेका छन्।

उनले गीतमा भन्न खोजिएको विषयको संक्षिप्त चर्चा पनि गरेका छन्। सबै चाडपर्वमा गाइने गीत र खेलिने खेलका विषयमा पनि चर्चा गरेका छन्। कसरी गाइन्छ?, कसरी खेलिन्छ?, कस्तो भेसभुसा प्रयोग हुन्छ? लगायत विषय उनले पुस्तकमा समावेश गरेका छन्। काली–कर्णाली क्षेत्रमा मनाइने चाडपर्वका विषय पनि उनले यसमा समावेश गरेका छन्। त्यस क्षेत्रमा बजाइने बाजाहरूको पनि सचित्र वर्णन गरिएको छ। पुस्तकमा थारु समुदायका लोक नृत्य र चाडपर्वका बारेमा पनि संक्षिप्त वर्णन गरिएको छ। दार्चुला जिल्लामा रहेको व्यासी सौका समुदायका चाडपर्व र संस्कृतिको व्याख्या पनि पुस्तकमा छ। काली–कर्णालीका गाली–बोली, लोकमन्त्र लगायत सम्पूर्ण विषय समावेश गरेका छन्।

उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका गायक पनि हुन्। यसरी गीत र पुस्तकका माध्यमले काली कर्णालीको लोकसाहित्यलाई शिखराकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले गृह जिल्लामा उनको सम्मान गरिएको आयोजकले जनाएको छ। यसरी गृह जिल्लामा भव्य समारोहमा राष्ट्रपतिबाट सम्मानित हुन पाउँदा आफूलाई धन जिम्मेवार र गौरवान्वित तुल्याएको उपाध्यायले बताएका छन्। धर्म संस्कृतिको जगेर्ना गर्न र नेपालका प्रमुख ४ धाम मध्येको वैद्यनाथ धामको प्रचारप्रसार गर्न कोटीहोम ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ। फागुन १० बाट सुरु भएको महायज्ञ फाल्गुन २५ गतेसम्म चल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्