सभामुखको पहलमा आवश्यक स्वास्थ्य सामाग्री प्रदान

सुशील सुवेदी
सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध भएको छ ।

पहिलो चरणमा जिल्लाका आठवटा स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि स्थानीय विपद् व्यबस्थापन समिति मार्फत् स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । वितरित सामग्रीहरुमा हरेक स्वास्थ्य इकाईहरुका लागि पिपिई सेट, थर्मल गन, स्यानिटाइजर, एन–९५ मास्क, पंजा, बुट लगाएत छन् ।

आज जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिशंखुपाखर गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गतका स्वास्थ्य इकाईका लागि ती सामग्री वितरण गरिएको छ । स्वास्थ्य सामग्री जिल्लाका युवा नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ले नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरेका छन् ।

सबै स्वास्थ्य सामग्रीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ चिकित्सकहरुबाट प्रमाणित गरिएको केन्द्रीय सदस्य सापकोटाले बताए । उपलब्ध गराइएका पिपिई सेट पुन प्रयोग गर्न सकिने किसिमका रहेका छन् । सुनकोशी, बलेफी र जुुगल गाउँपालिका भित्रका स्वास्थ्यसंस्थाहरुका लागि लगत्तै स्वास्थ्य सामग्री वितरण गरिने नेता सापकोटाले जानकारी दिए ।

स्वास्थ्य संस्थाहरुमा बिरामी पुुग्दा उपयुक्त स्वास्थ्य सामग्रीको अभावमा चेकजाँच गर्न अप्ठेरो भएको गुनासो आएपछि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित जनप्रतिनिधि, संघीय संसद प्रतिनिधि सभाका सभामुख सापकोटाको पहलमा ती स्वास्थ्य केन्द्रहरुमा सामग्री पठाइएको हो ।
सामाग्री बुुझेपछि स्थानीय तहका प्रमुुखहरुले सभामुख सापकोटाको पहलप्रति खुशी व्यक्त गरेका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले अहिलेको आवश्यकता नै स्वास्थ्य सामग्री भएकोले पहलका लागि सभामुख सापकोटालाई धन्यवाद ज्ञापन गरे । यस्तै भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल, त्रिपुरासुन्दरी गाउँपालिकका अध्यक्ष भूपेन्द्र श्रेष्ठ, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले सामग्रीका लागि सभामुख सापकोटालाई धन्यवाद दिए ।

स्थानीय तहका जनप्रतिनिधिहरुले संकटमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । दोस्रो चरणमा स्थानीय विपद् व्यबस्थापन समितिहरुसँग समन्वय गरेर खाद्यान्नलगायत सामग्री वितरणको तयारी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्