आइसिसी लिग–२ मा आज नामिबियासँग खेल्दै नेपाल

काठमाडौँ – आइसिसी लिग–२ अन्तर्गत्कोको त्रिदेशीय सिरिजमा बुधबार नेपालले नामिबियासँग खेल्दैछ। त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा बुधबार बिहान सवा ९ बजे नेपाल र नामिबियाबीचको खेल सुरू हुनेछ। नेपालले जारी सिरिजको तेस्रो खेल खेल्दै छ भने नामिबियासँग सिरिजको दोस्रो खेल खेल्दैछ। यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्डलाई ९ विकेटले हराएको थियो। नेपालले फागुन १३ गते पुन नेदरल्यान्डसँग खेलेपछी त्रिदेशीय सिरिज सकिनेछ। लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो। अनिलले पछिल्लो दुई खेलमा क्रमशः अर्धशतक र शतक प्रहार गरेका थिए। अन्तिम खेलमा ब्याटिङको पालो नपाएका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए। यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग–२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ। आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतस् कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्