७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व, सुदूरपश्चिममा को परे ?

काठमाडौं – नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दज्र्यानी चिह्न लगाइदिएका हुन् ।

गृह मन्त्रालयले चैत २८ गते एसएसपी घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

दज्र्यानी चिह्न लगाइदिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले बढुवा भएका अधिकृतलाई पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनका नीति पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिए ।

प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरीसामु रहेको उल्लेख गर्दै ज्ञवालीले प्रदेश प्रमुखका रुपमा खटिने अधिकृतको भूमिका अझ बढी हुने बताए । उनले भने, ‘आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुन आवश्यक छ ।’ स्थानीय तहसँग आवश्यक सहकार्य एवं समन्वय गरी आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उनले बताए ।

बढुवा गरिएकामध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् भने २ नं. प्रदेशमा धिरजप्रताप सिंहलाई पठाइएको छ । बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्