लकडाउनको उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना पक्राउ

काठमाडौं – कपिलवस्तुमा लकडाउन उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना पक्राउ परेका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–७ स्थित मस्जिदमा सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका–७ का स्थानीय हुन् ।

लकडाउनको समयमा मस्जिदमा प्रार्थना नगर्न पटक–पटक गरिएको आग्रह पालना नगरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी दीपशमशेर राणाले जानकारी दिए ।

उनीहरूलाई अहिले तौलिहवा वडा प्रहरी कार्यालयमा राखिएको छ । प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर उनीहरूलाई के गर्ने भन्नेबारे निर्णय हुने एसपी राणाले जानकारी दिए ।

कोरोना भाइरसविरुद्ध लड्न सरकारले लकडाउनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले धार्मिकस्थलमा भीडभाड नगर्न सार्वजनिक अपिल गर्दै आएको छ । प्रशासनको आग्रहपछि पनि मस्जिद, मन्दिरलगायतमा भीडभाड बढेपछि नियन्त्रण प्रयास थालिएको प्रहरीले जनाएको छ ।
अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्