कार्यालय सहयोगीकै भरमा चलेका छन् विद्यालय

सुर्खेत – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन्। आधारभूत तहलाई अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताइए पनि शिक्षकको अभावमा विद्यार्थी पढ्न वञ्चित हुँदै आएका छन्।

बनगाड कुपिण्डे नगरपालिका वडा नं २ मा रहेको भगवती प्राथमिक विद्यालय बाहुनगाउँ, वडा नं ३ मा रहेको जनता प्रावि खरिक, वडा नं ४ मा रहेको बाललीला प्रावि देउली, वडा नं ९ मा रहेको काफलगैरी प्रावि सेरा, वडा नं १० मा रहेको प्रेमज्योति प्रावि पराजुल र वडा नं १२ मा रहेको दलित प्रावि ताल लगायतका विद्यालय शून्य दरबन्दी हुँदा बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन्।

सेरामा बालविकास र कार्यालय सहयोगीको भरमा चलिरहेको छ। कक्षा १–३ सम्म सञ्चालन भएको उक्त विद्यालयमा २२ जना विद्यार्थी छन्। बाहुनगाउँ पनि कक्षा १–३ चलेको छ जसमा २४ जना विद्यार्थी रहेको रञ्जना आचार्य शर्माले बताइन्। बालविकास र कार्यालय सहयोगीले पढाइरहनुपरेको उनको भनाइ छ। खरिकमा ३२ जना विद्यार्थी छन् जसमा दुईजना निजी शिक्षक र कार्यालय सहयोगीले पढाइरहेका छन्। पराजुलमा २५ जना विद्यार्थी छन् जसमा बालविकास र कार्यालय सहयोगीले पढाइरहेका छन्। यी सबै विद्यालय बालविकासदेखि ३ कक्षासम्म चलिरहेका छन्।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले शिक्षामा आफ्नो पहिलो प्राथमिकता राखेको त्यस्तो ठाउँमा छिट्टै शिक्षक व्यवस्थापन गर्ने बताए। सामाजिक विकास समिति संयोजक तथा ७ नं वडाध्यक्ष जीवनसिंह ठकुरीको संयोजकत्वमा विद्यालय अनुगमन, व्यवस्थापन, दरबन्दी मिलान, विद्यालय समायोजन लगायतका काम गर्ने समिति बनेको र उक्त समितिको प्रतिवेदनअनुसार काम अघि बढाउने उनको भनाइ छ। प्रतिवेदनमा आएको निष्कर्षअनुसार दरबन्दी मिलान गरेर थप दरबन्दी थपघट गरेर शिक्षामा सुधार ल्याउने नगरप्रमुख बुढाथोकीको भनाइ छ। जिल्लामा ४३९ सामुदायिक विद्यालय रहेकोमा दरबन्दी र राहत गरेर १ हजार ६०२ जना मात्र शिक्षक रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्