दार्चुलामा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार

तस्वीर : भोजराज जोशीको फेसबुकबाट

दार्चुला – दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार भएको छ । आइतबार दिउँसो डिउटीमा खटिएका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार भएको हो । महाकाली नगरपालिका वडा नम्बर १ दहका २५ वर्षीय उमेश कुवँरले दुई जना प्रहरी माथि चक्कु प्रहार गरेको दार्चुला प्रहरीले जनाएको छ । उमेशले आफ्नै श्रीमती धनिशा कुवँरलाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरी कार्यालयमा निबेदन दिएपछि प्रहरी टोली कुवँरको घरमा गएको थियो । घटनाको अनुसन्धानका लागि सामुदायिक प्रहरी केन्द्र बंगाबगरबाट उमेशको घरमा गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । उमेशले धनिशालाई चक्कु प्रहार गर्न खोजेको बेला बचाउन खोज्दा प्रहरीलाई नै लागेको बताइएको छ ।

दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र जवान ठगुन्नाको घाउमा सात टाका लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते दुबै प्रहरी खतरामुक्त रहेको अस्पतालले जनाएको छ । गत भदौमा भागेर बिहे गरेका उमेश र धनिशाको झगडा हुदै आएको आफन्तजनले समेत बताएका छन् । उमेशले धनिशालाई पीटेर घरेलु हिंसा गरेको निवेदन समेत प्रहरीमा पुगेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिन प्रहरी टोली उमेशको घरमै गएको थियो ।

प्रहरीलाई चक्कु प्रहार गरेर भागेका उमेशको खोजि भइरहेको प्रहरीले जनाएको छ । उमेश केही समय पहिले सुधार गृहबाट फर्किएको समेत बताइएको छ । चक्कु प्रहार गर्ने कुवरमाथि ज्यानमार्ने उद्योगको मुद्धा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्