बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम

काठमाडौँ, १ माघ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ ।

 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

म्यानचेस्टर युनाइटेडले खेलमा दुई पटक अग्रता बनाए पनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो ।

खेलको तेस्रो मिनेटमा नै रासमस होजलण्डको गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेडले खेलको १९औं मिनेटमा गोल खाएको थियो । टोटनह्यामका लागि रिचार्लिशनले बराबरी गोल गरेका थिए । त्यसपछि खेलको ४०औं मिनेटमा मार्कश राशफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुन: अग्रता दिलाएका थिए । तर दोस्रो हाफको पहिलो मिनेटमा नै टोटनह्यामका रोड्रीगो बेन्टानकरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

 

यो बराबरीपछि टोटनह्यामको २१ खेलमा ४० अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको भने २१ खेलमा ३२ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्