काठमाडौँ रेजर्सलाई हराउदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा

काठमाडौँ, १० पुस । ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

मंगलबार सम्पन्न इलिमिनेटरमा  काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो ।

ललितपुरको जितमा नाइजेरियन खेलाडी इमाह इजेकिएलले दुई गोल गरेका थिए भने फ्रेन्च खेलाडी पापा इबोउ केबेले एक गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ललितपुरले दोस्रो हाफमा एक गोल थपेको थियो ।

पहिलो हाफको ३६औं मिनेटमा इजेकीएलले गोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए भने ४४औं मिनेटमा केबेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यस्तै दोस्रो हाफको ५२औं मिनेटमा इजेकीएलले हेडमार्फत आफ्नो दोस्रो गोल गर्दै ललितपुरको अग्रता तेब्बर पारेका थिए ।

यो जितसँगै अब ललितपुर यस सिजनको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सको सामना गर्ने छ । विहिबार हुने यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ ।

त्यस्तै इलिमिनेटरमा हार बेहोरेको सँगै नेपाल सुपर लिगको डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्सको यस सिजनको यात्रा समाप्त भएको छ ।

यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्